पोखराको मिनी मार्केटमा आगलागी हुँदा ३० भन्दा बढी सटरहरु जलेर नष्ट

एजेन्सी, पोखरा । पोखराको न्युरोड स्थित भाटभटेनी नजिकैको मिनी मार्केटमा आगलागी भएको छ । करीब ४ बजेको समयमा न्युरोडको एक मिनी मार्केटमा आगलागी भएको हो ।

आगलागीबाट मिनी मार्केटका ३० भन्दा बढी सटरहरु नष्ट भएको र ठूलो जनधनको क्षति भएको छ । एस मिनी मार्केटमा रहेको फम तथा कार्पेट पसलबाट आगो लाग्न सुरु भएको आशंका गरिएको छ । यद्यपी आगो के कारणले लाग्यो भन्ने पत्ता लाग्न सकेको छैन ।

आगो निभाउनका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय जुटेका थिए । आगलागीबाट करोडौंको सामान जलेर नष्ट भएको र त्यहाँ रहेका रेष्टुरेन्ट, इलेक्ट्रिक पसल, फर्म हाउस, चस्मा पसल, क्याफे लगायतका सम्पूर्ण पसलहरु पूर्ण रुपमा जलेका छन् ।

आगो नियन्त्रणमा लिन करीब २ घण्टा समय लागेको थियो । आगलागी नियन्त्रण गर्नका लागि पोखरा महानगरपालिकाका ३ वटा बारुणयन्त्र र पोखराका स्थानीय खानेपानी ब्यवसायीका ट्याङ्करहरु प्रयोगमा ल्याइएका थिए । आगोलागीबाट यत्ति नै क्षति भयो भन्ने ऐकिन गर्न नसकिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले जानकारी दिएका छन् ।

आगो अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको पनि शाहले जानकारी दिए । आगलागीबाट कुनै पनि मानविय क्षति नभएको पनि उनले बताए ।

– उत्तम पौडेल

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *