६०० वर्ष पुरानो ऐतिहासिक खड्ग भवानी कोतसम्म पदमार्ग निर्माण

एजेन्सी, गलेश्वर। करीब छ सय वर्ष पुरानो इतिहास र सम्पदाको साक्षी बनेर रहेको म्याग्दीकै ऐतिहासिक स्थल खड्गभवानी कोतसम्म व्यवस्थित पदमार्ग निर्माण गरिएको छ ।म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेदेखि खड्गभवानी कोत जोड्ने पक्की सिँढीसहितको २५० मिटर पदमार्ग निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग वन, वातावरण तथा पर्यटन मन्त्रालय र बेनी नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीयवासीको सक्रियतामा उकालो बाटोमा ३५३ वटा सिँडीसहितको पदमार्ग निर्माण भएपछि ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल खड्ग भवानी कोत पुग्न सहज भएको छ ।

आव २०७५÷७६ मा मन्त्रालय अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत प्राप्त रु १४ लाख ९९ हजार ४८६ र उपभोक्ताको रु तीन लाख २१ हजार बराबरको श्रमदानमा उक्त पदमार्ग निर्माण भएको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।पदमार्ग निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर विकले दुई मिटर फराकिलो पदमार्गको १९० मिटर दुरीमा फलामको रेलिङ राखिएको बताउनुभयो । पदमार्ग निर्माण भएपछि उकालो बाटोमा सहज र सुरक्षित रुपमा हिँड्डुल गर्न सकिनुका साथै पर्यटकको समेत आवागमन बढ्ने स्थानीय हरि घिमिरेले विश्वास व्यक्त गर्नुभयो ।

खड्ग भवानी कोत परिसरबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ«े, गुर्जा, चुरेन लगायतका १५ वटाभन्दा बढी हिमाल, धौलागिरि र गण्डकी क्षेत्रका ३३ भन्दा बढि गाउँहरु, सूर्योदय, ग्रामीण जनजीवन, धार्मिकस्थल गलेश्वर, पञ्चकोट, म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा म्याग्दी नदी र कालीगण्डकीको नागबेलीसहित प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सकिन्छ । खड्ग भवानी कोतस्थललाई राजधानी बनाइ विसं १२४६ देखि १५४५ सम्म थापाहरु र त्यसपछि मल्ल राजाले ज्यामरुककोटमा राज्य गरेका थिए । यस कोतमा ५७४ वर्ष पुराना अभिलेख, हतियार र पुरातात्विक महत्वका सामग्री रहेका छन् ।

– रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *