चीनमा आएको ‘लेकिमा’ आँधीका कारण ४४ को मृत्यु, १६ जना अझै बेपत्ता

एजेन्सी, चीन । चीनमा शनिबार आएको ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । यस आँधीमा परी अझै पनि १६ व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीहरुले बताएका छन् ।

लेकिमालाई यस वर्ष आएको नवौँ आँधी भनिएको छ । यस भीषण आँधीबाट झेजिआङ्का करिब ६६ लाख ८० हजार नागरिक प्रभावित भएका सोमबार प्राप्त समाचारमा जनाइएको छ ।

तीमध्ये १२ लाख ६० हजार नागरिक विस्थापित भएका छन् । उनीहरुलाई उद्धार गरी सुरक्षितस्थलतर्फ लगिएको थियो । यस आँधीबाट २४.२२ अर्ब युआन प्रत्यक्ष रुपमा आर्थिक हानी भएको बताइएको छ । यस आँधीबाट दुई लाख ३४ हजार हेक्टर जमिनको बालीनाली नष्ट भएको पनि प्राप्त एक समाचारमा जनाइएको छ ।

स्थानीय समयअनुसार शनिबार दिउँसो १ः४५ बजे झेजिआङ प्रान्तको बेन्लिङ शहरमा लेकिमाको प्रवेश भएको थियो । त्यसैगरी आइतबार राती ८ बजे शानडोङ प्रान्तको किङ्गडाओमा सो आँधी प्रवेश भएको थियो ।

लेकिमाबाट शानडोङ्मा पाँच व्यक्तिको मृत्यु हुनेको साथै अन्य सात जना स्थानीय बेपत्ता भएका छन् । यस आँधीबाट सो प्रान्तमा १६ लाख ६० हजार व्यक्ति प्रभावित भएका छन् ।

सो प्रान्तमा सोमबार विहानसम्म १ लाख ८३ हजार ८०० आँधी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको प्रान्तीय सङ्कटकालीन व्यवस्थापन विभागले जनाएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *