पाल्पाकाे भैरवनाथ मन्दिरमा आर्थिक अनियमितता, अध्यक्ष एक्लैले झिके मन्दिरकाे २७ लाख

एजेन्सी, पाल्पा। जिल्लाको एेतिहासिक धार्मिक महत्व बोकेको रिब्दीकोट गाउँपालिकामा पर्ने भैरवनाथ मन्दिरमा आर्थिक अनियमितता भएको तथ्य बाहिर आएको छ ।मन्दिरमा जाने दर्शनार्थीले भेटी वापत संकलित रकममा मन्दिर व्यवस्थापन समितिद्वारा अनियमितता भएको हाे । मन्दिरसँग सरोकार राख्ने धार्मिक संघ-संस्थाले यस विषयमा खोजबिन गर्दा दैनिक रुपमा संकलित रकम २७ लाख २० हजार रुपैया मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीले बैंकबाट व्यक्तिगत प्रयोजनका लागि झिकेको खुलासा भएकाे हाे ।

उनले साे रकम तानसेनस्थित गरिमा विकास बैंकबाट झिकेका हुन्, जसमा मन्दिरकाे भेटीबाट उठेकाे रकम जम्मा गरिन्थ्याे ।हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्रविन्दुका रुपमा स्थापित एेतिहासिक भैरवनाथ मन्दिरमा आर्थिक अनियमिता भएको भन्दै अख्तियार र जिल्ला प्रशासन कार्यलयमा मुद्दा समेत परेको छ । छानविन पछि जे निर्णय आउछ त्यही अनुसारको सजायको भागीदार बनाइने र त्यसका लागि आवश्यक कानुनी प्रकृया अगाडि बढेको गाउँपालिका अध्यक्ष नारायण जिसी बताउछन् । मन्दिर व्यवस्थापन समितिको निर्णयविना नै अध्यक्ष अधिकारीले एकलाैटी रुपमा दुई वर्ष अगाडि नै तानसेनस्थित गरिमा विकास बैंक बाट रकम झिकेर व्यक्तिगत कार्यमा लगानी गरेको व्यवस्थापन समितिका अन्य पदाधीकारीहरु बताउछन् ।

मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष तेज बहादुर पोखरेल भन्छन्- ‘पवित्र धार्मिक संस्थाको रकम समितिकाे निर्णयविना बैंकबाट कुन प्रयोजनका लागि झिकेको हाे भन्ने विषयमा प्रष्ट खुलाइएकाे छैन । यदि निर्माण कार्यका लागी भनेर झिकिएको भए तापनि त्यस्तो मन्दिरकै पैसा चलाउनु आवश्यक थिएन, मन्दिरको लागि आउने बजेट अनुदान एक-दुई दिनमा आइसक्थ्यो ।’समितिकाे निर्णयविना र स्पष्ट नीतिविना नै समितिका अध्यक्षले रकम हिनामिना गर्नु गैरकानुनी भएको स्थानीय बासिन्दा गम्भीर बहादुर आलेको भनाइ छ ।

पैसा मन्दिरको निर्माण कार्य भैरहेको हुनाले त्यसको हिसाबकिताब मिलाउन भनेर झिकिएको भए पनि मन्दिरका अन्य सदस्यहरु कसैलाई थाहा दिइएकाे थिएन । अध्यक्ष र कोषाध्यक्षको रोहवरमा मन्दिरको रकम गैरकानुनी रुपमा प्रयोग गरेको स्थानीय जगदिश श्रेष्ठले बताए । स्थानीय सञ्चार माध्यमहरुमा समाचार बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे कार्यालय र गुठी संस्थान कार्यालयले अनुसन्धानको प्रकृया अगाडि बढाएका छन् ।

– सुमन कार्की

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *