युरोपियन मुलुक माल्टामा रोजगारी दिने भन्दै ठगी बढ्दो

एजेन्सी, काठमाडौं। युरोपियन मुलुक माल्टामा रोजगारी दिने भन्दै ठगी गर्ने क्रम बढेको छ । इटालियन टापु सिसिलीको दक्षिणमा अवस्थित उक्त सानो मुलुकमा बहुराष्ट्रिय कम्पनीका लगानी बढेसँगै उद्योगहरु पनि बढेका छन् । त्यसले कामदारको माग बढाएको छ ।म्यानपावर कम्पनीमार्फत् पठाउने बैधानिक प्रक्रिया झन्झटिलो बनाइएपछि त्यसको फाइदा शैक्षिक कन्सल्टेन्सी र केही भारतीय एजेण्टहरुले उठाएको देखिएको छ । लाखौं धरौटी राखेका म्यानपावर कम्पनीहरुले ल्याएका माग प्रमाणिकरण गर्न नेपाली नियोगहरुमा समय लाग्ने भएपछि विना लगानी खोलिएका कतिपय शैक्षिक कन्सल्टेन्सीहरुले विद्यार्थीका नाममा कामदार पठाएर प्रतिव्यक्ति १२ लाख रुपैयाँसम्म असुल्ने गरेका छन् ।

तर उनीहरुमाथि अनुगमन भई दोषी पक्राउ पर्न सकिएका छैनन् । शैक्षिक कन्सल्टेन्सी मार्फत गई अलपत्र परेपछि त्यसको दोष भने वैदेशिक रोजगार व्यवसायीहरु माथि सामुहिक रुपमा लाग्ने गरेका छन् ।यूरोपियन मुलुक माल्टाको आकर्षक डिमाण्ड देखाएर नेपालका म्यानपावर कम्पनी र कामदार ठग्ने एक भारतीय नागरिकलाई केही समय अघि प्रहरीले पक्राउ गरेको थियो । राजधानीको भीभी ईन्टरनेशनल प्रालिमार्फत नेपाली युवाहरुलाई आकर्षक रोजगारीमा माल्टा लैजाने भन्दै नक्कली भिसा र अफर लेटर दिलाएर विभिन्न व्यक्तिबाट रकम उठाएको भन्दै उक्त म्यानपावर कम्पनीका सञ्चालक दावा शेर्पाले उजुरी दिएपछि राहुल पाण्डे नामक भारतीय व्यक्ति पक्राउ परेका थिए ।

हाल माल्टामा विद्यार्थीले पनि काम गर्न अनुमति पाउने र ५ वर्षमा स्थायी बसोबास (पीआर) पाइन्छ भनेर भ्रम फैलाइ ठगी धन्दा निर्वाध रुपमा चलिरहेको एक प्रहरी अधिकारी बताउँछन् । नेपालबाट गतवर्ष १ हजार ७ सय ४९ जना नेपाली कामदार मात्र उक्त मुलुक पुगेका थिए । त्यसमा म्यानपावर कम्पनीबाट गएका कामदारहरको संख्या जम्मा ५ सय ४७ रहेको छ । बाँकी व्यक्तिगत भिषा, व्यक्तिगत भिषा नवीरकण र वैधानिकिकरण प्रक्रिया पुरा गरेर गएका हुन् । माल्टा पुगेपछि तीन महिनामा युरोप भन्दै छ्यापछ्याप्ती आकर्षक विज्ञापन सामाजिक सञ्जालमा भेटिने गरेका छन् ।

युवाहरुलाई माल्टाको रोजगारीका नाममा ठग्न पल्केका शैक्षिक कन्सल्टेन्सी र केही भारतीय नागरिकहरुले सामाजिक सञ्जाल भाइबर, ह्वाट्सएप र ईमो मार्फत आकर्षक विज्ञापन पठाई प्रतिघण्टा साढे ४ युरो र मासिक १ हजार ५० युरो करिब एक लाख ३० हजार रुपैयाँसम्म कमाइ र पाँच वर्षपछि पिआर हुन्छ भनी लोभ्याउने गरेका छन् ।सन् १९६४ मा ब्रिटेनबाट स्वतन्त्रता पाएको माल्टा आप्रवासीका लागि युरोप प्रवेश गराउने मार्गको रूपमा प्रयोग हुँदै आएको छ । कन्टेनरहरूको पारवहनको एउटा मुख्य केन्द्रका रूपमा रहेको माल्टा बिदा मनाउने चर्चित ठाउँ पनि हो ।

त्यसले त्यहाँ रोजगारी बढाईरहेको छ । तर अनुगमनका अभावका माल्टामा देखिएको अवसर बेरोजगार नेपाली युवा ठगिने माध्यम बनेको कतिपयको भनाई छ । माल्टा जस्तै पोल्याण्ड, रोमानियालगायतका मुलुकमा भिसा दिलाइदिन सक्ने भन्दै एजेण्टहरुले सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन् । त्यसको अनुगमन हुन नसकेको पीडितहरुको भनाइ छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *