ओ माइ गड ! उफ् तरकारीको भाउ ! कसरी छाक टार्ने ?

एजेन्सी, काठमाडौं। मध्यम र निम्न मध्यम वर्गीय परिवारलाई साँझ–विहान धक फुकाएर दाल, भात, तरकारी खान नै धौं–धौं भएको छ अहिले । यसो शनिवार वा पाहुना–पाछा जम्मा भएका बेला खसीको मासु खाउँ भन्यो भने पनि खल्ती हेर्नुपर्ने भएको छ । किनकी बजारमा तरकारी र मासुको भाउले अत्याएको छ ।

उत्पादन कम, आपूर्ति कम, ढुवानी समस्या, तराईको बाढी र किसानले नै बढी लिन थाले भन्दै काठमाडौं उपत्यकामा तरकारीको भाउ यसरी बढाइएको छ कि– २ सय जति खर्चिएन भने त छाक टार्न नै मुस्किल छ । केही तरकारीमा अघिल्लो वर्षको यही समयको तुलनामा २ सय ४४ प्रतिशतसम्म भाउ बढेको छ ।

काठमाडौं उपत्यकाको थोक केन्द्र कालिमाटीमै गोलभेडा, भिण्डी, तितेकरेला, परवर, काक्रो, घिरौला, भटमासकोशा, कागती, रायोको साग, अदुवा, चम्सुरको साग, न्यूरोलगायत थुप्रै तरकारीको मूल्य अचाक्ली बढेको छ । फलफूलको त झन कुरै भएन ।

प्रायः वर्षातको बेला तरकारीको भाउ केही बढ्नु स्वभाविकै हो । तर, अहिले ह्वात्तै बढाइएको छ । सामान्य भन्दा धेरै पानी पर्नाले ढुवानी कम हुने र छिट्टै कुहिने समस्याका कारण भाउ बढेको व्यापारीको तर्क छ । तर, कालीमाटीमा दैनिक भित्रिरहेको तरकारीको परिमाण हेर्दा ढुवानीमा त्यतिधेरै अन्तर देखिदैन ।

तरपनि व्यापारी आपूर्ति नै कम छ, किसानले नै बढि पैसा लिन थाले भनेर निरन्तर भाउ बढाइरहेका छन् । जुन सुकै बस्तु विक्रि गर्दा पनि कानूनतः २० प्रतिशतभन्दा बढी नाफा लिन पाइँदैन । तर, तरकारीमा थोक विक्रेताले नै ६०/७० प्रतिशतसम्म नाफा लिइरहेका छन् । तरपनि सरकारले बजारमा प्रभावकारी हस्तक्षेप नगर्दा उपभोक्ता मारमा छन् ।

तथ्यले अघिल्लो वर्षको साउन पहिलो साताभन्दा यो साउनको पहिलो सातामा तरकारीको भाउ २ सय ४४ प्रतिशतसम्म बढेको देखाएको छ । तर, सरकारी अधिकारी धेरै होइन, सामान्य मात्रै बढेको हो भन्छन् । काठमाडौं उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा बढेको जनगुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार दिन अघि कालिमाटी तरकारी तथा फलफूल बजारमा अनुगमन ग¥यो । र, त्यसक्रममा वल्लो सटर र पल्लो सटरमै मूल्य फरक पाइयो ।

नियमित आपूर्ति भइरहँदा पनि तरकारीको मूल्य बढाइएको छ । र, त्यसमा विचौलियाले मनग्य फाइदा लिइरहेका छन् । उपभोक्ता सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने माग त गर्छन् । तर, सरकार सक्रिय हुँदैन । र, यही कारण उपभोक्ता मारमा परिरहेका छन् । तपाईंलाई अचम्म लाग्ला अघिल्लो साउनको पहिलो सातामा भन्दा यो समयमा केही तरकारीको मूल्य भने घटेको छ । तर, मूल्य घटेका तरकारी सीमित छन् ।

काठमाडौं उपत्यकाको थोक केन्द्र कालिमाटीमा त्यहाँको बजार विकास समितिले फलफूल तथा तरकारी दिनदिनै मूल्य तोक्छ । तर, त्यहीँ पसलैपिच्छे भाउ फरक छ । कालिमाटीबाट लैजाने खुद्रा विक्रेताले आफूखुसी मूल्य असुलेर उपभोक्तालाई हैरान पारेका छन् ।

कालिमाटीमै बल्ल–बल्ल अनुगमन गर्ने सरकारी निकायले खुद्रा पसल अनुगमन गर्ला र उपभोक्तालाई राहत देला भन्ने त कल्पना मात्रै पनि निरर्थक हुन्छ । बिचौलिया, ढुवानीकर्ता तथा किसानबाट खरीद गरेर ल्याएको तरकारी कतिमा बिक्री भयो भन्ने थाहा नहुँदासम्म उपभोक्ता यसरी नै गगिनु पर्ने निश्चित छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *